बाँके । किशोरीहरुका लागि लकडाउनको समयमा प्रविधिको सुरक्षित प्रयोग र बालविवाह विरुद्ध लेख प्रकाशन सम्बन्धि एक दिने भर्चुअल तालिम सम्पन्न भएको छ । सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) बाँकेले प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बालविवाह रोकथाम परियोजना अन्तर्गत आज मंगलबार भर्चुअल अनलाईन तालिम सन्चालन गरेको हो ।
सो तालिममा ईन्टरनेटमा कसरी सुरक्षित रहने र बालविवाह विरुद्धको अभियान कसरी पत्रपत्रिकाा प्रकाशन गर्ने, आफना विचारहरु अनलाईन, ब्लग, सामाजिक सन्जालमा कसरी राख्ने भन्ने बारे पत्रकार सोम गुरुङ्गले सहजीकरण गर्नुभएको थियो । तालिम पश्चात सहभागी बैजनाथ गाउँपालिका किशोरीहरुले आफु सुरक्षित भएर ईन्टरनेट चलाउने प्रतिबद्धता जनाएका छन् । सो तालिममा सहभागी एकता किशोरी क्लबका अध्यक्ष अनु रावतले समाजमा ईन्टरनेटको दुरुपयोगले गर्दा अहिले बालविवाह बढिरहेको बताईन । लकडाउनको समयमा सामाजिक सन्जालको लत बस्दा पठनपाठनमा हानी भएको समेत बताईन् ।
सो तालिममा बैजनाथ गाउँपालिकाका विभिन्न वडामा गठन भएका किशोरी क्लबका दुई दर्जन किशोरीहरुको सहभागिता रहेको थियो । कोभिड–१९ संक्रमणको महामारीका कारण संस्थाले भौतिक रुपमा गर्न नसक्ने भएपछि अनलाईनको माध्यमले तालिम गरिएको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले बताउनुभयो । संस्थाका परियोजना प्रबन्धक जगदिश थापाले तालिमको विषयबस्तु तथा उद्धेश्य बारे जानकारी गराउनुभएको थियो भने फिल्ड सुपरभाईजर बबिता शाहले कार्यक्रम संचालन गर्नुभएको थियो ।










